श्रमको सम्मान लोकतन्त्रमा मात्र हुन्छ : सभापति देउवा

काठमाडौँ, १८ वैशाख : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिवसका अवसरमा सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

विश्व श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु मजदुर आन्दोलन भएको , २००३ सालमा काँग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरको पहिलो ऐतिहासिक आन्दोलन भएको र सरकारले निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बिपी कोइरालालगायत धेरै नेतालाई पक्राउ गरे पनि २०१६ सालमा कांग्रेसको जननिर्वाचित सरकारले नै कारखाना र मजदूरसम्बन्धी कानूनको तर्जुमा गरेर मजदूरहरूलाई कानूनसम्मत अधिकार प्रदान गरेको स्मरण गराउनुभएको छ ।

कांग्रेसको नेतृत्व र अग्रसरतामा श्रमिकको अधिकार सुनिश्चित गराउन २०४८ सालमा श्रम ऐन, २०४९ सालमा ट्रेड युनियन ऐन र २०७४ सालमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र संशोधित श्रम ऐन ल्याइएको सभापति देउवाको सन्देशमा उल्लेख छ ।

उहाँले लोकतन्त्रमा मात्र श्रमको सम्मान हुने भएको हुँदा लोकतन्त्रको रक्षा र सम्बर्ध्दन गर्नु सबैको कर्तव्य र दायित्व भएकाले यस दिशातर्फ सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनी सजग र जिम्मेवार हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया