कम्युनिष्ट सरकार देशलाई दीर्घकालीन धार्मिक एवं साँस्कृतिक द्वन्द्वको सुरुङ तर्फ धकेल्न उद्यत्- पशुपति शमशेर जबरा

काठमाडौं । राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर जबराले शुक्रबार एक प्रेस विज्ञप्तिमार्फत वर्तमान नेकपा सरकारको प्रत्यक्ष तथा परोक्ष संरक्षण तथा सहभागितामा एशिया प्यासिफिक समिटको आवरणमा काठमाडौंमा हुंदै रहेको क्रिश्चियन धर्म सम्मेलन दश वर्षे सशस्त्र द्वन्द्वको घाउका खाटा बसिनसकेको अवस्थामा कम्युनिष्ट सरकार देशलाई पुनः अर्को दीर्घकालीन धार्मिक एवं साँस्कृतिक द्वन्द्वको कहाली लाग्दो सुरुङ तर्फ धकेल्न उद्यत् रहेको बताएका छन् ।

सम्मेलनका देखाउने एजेण्डा जलवायु परिवर्तन लगायतका विषय रहेको प्रचार गरिएको भए पनि त्यो केवल रुप पक्ष मात्र रहेको र यसको सार पक्ष नेपालमा क्रिश्चियन धर्मको विस्तार एवं सम्वद्र्धन गर्ने रहेको तथ्य दिनको घाम जत्ति कै प्रष्ट भएको छ विज्ञप्तिमा उल्लेख छ ।

शदीयौं देखि धार्मिक र साँस्कृतिक सहिष्णुतालाई राष्ट्रिय चरित्र तथा संस्कृतिको रुपमा अवलम्बन गर्दै आएको नेपाललाई, जवर्जस्ती धार्मिक र साँस्कृतिक द्वन्द्वको चक्रव्यूहमा फँसाउने वाह्य शक्तिहरुको दीर्घकालीन रणनीति कार्यान्वयनमा वर्तमान सरकार संलग्न रहेकोले उक्त कार्य घोर चिन्ता र निन्दाको विषय भएको जबराले भनेका छन् । उनले आफूलाई साम्यवादी भनेर नेपालमा समाजवाद कायम गर्छौं भन्ने वर्तमान नेकपा सरकारले एउटा खास धर्म र सम्प्रदायको मतियार बनेर राज्यको कुनै जात, धर्म वा सम्प्रदाय हुंदैन भन्ने धर्म निरपेक्षताको सिद्धान्तको समेत खिल्लि उडाएको बताएका छन् ।

क्रिश्चियन धर्मालम्वी प्रति सम्मान गर्दै, आआफ्नो धर्म र संस्कृति प्रति गौरव गर्नु, विस्तार एवं सुदृढिकरणमा लाग्नु सम्बन्धित धर्मालम्बीको दायित्व र कर्तव्य भएको र नेपालका ९४ प्रतिशत सनातन धर्मावलम्वी ( हिन्दू, बौद्ध, किराँत र प्राकृत लगायत ) नेपाली जनताले मान्दै आएको सनातन धर्म प्रति आस्था र सम्मान दर्शाउन हामी विश्वका क्रिश्चियन धर्मावलम्बी मित्रहरुसंग पनि आग्रह गर्दै जबराले, हाम्रो आपत्ति नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाएर प्रायोजित रुपमा क्रिश्चियनिटीको माहौल तयार गर्न सघाउने नेपालकै दल र नेताहरु प्रति भएको तथा  प्रायोजित प्रवृत्ति घातक र अविश्वसनीय हुन्छ भन्ने तथ्यलाई एशिया प्यासिफिक समिटमा आवद्ध राष्ट्र र अभियन्ताले समेत बुझ्न जरुरी भएको बताएका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया