सरकार आफ्नै छायाँदेखि किन डराएको ? – बाबुराम भट्टराई

काठमाडौं ̸ शुक्रबार दिउँसो काठमाडौंको माइतीघर मण्डलाबाट कञ्चनपुरकी १४ वर्षीया किशोरी निर्मला पन्तको न्यायको निम्ति दबाब दिने उद्देश्यले पोष्टर टाँस्दै हिँडेका १२ जनालाई प्रहरीले पक्राउ गरेसँगै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले बिजुलीको पोलहरुमा पोष्टर टाँस्न पाउने तर जनताले नपाउने भनेर संविधान/कानुन/नियममा कहाँ लेखिएको छ भनेर प्रश्न गरेका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले सरकार किन यसरी विक्षिप्त बन्दैछ ? आफ्नै छायाँदेखि सरकार किन डराउँदैछ ? भनेर सामाजिक सञ्जाल ट्विटरमार्फत प्रश्न गरेका हुन् ।

ट्विटरको अन्त्यमा लेखिएको छ – ‘विधिको शासन भनेको कानूनको नजरमा सबै समान भनेको हैन ? सरकारले विधि मिच्ने भनेको निरंकुशता–फासिवाद हैन ? भीरबट लड्ने गाईलाई रामराम !’

बिजुलीको पोलमा पन्तको तस्बिर टाँस्न खोज्दै गर्दा पक्राउ परेका सबै जनालाई सिंहरदबार प्रहरी वृत्तको हिरासतमा लगेर राखिएको थियो । पक्राउ पर्नेमा ३ जना पुरुष र बाँकी सबै महिला रहेका थिए । अभियनकर्ता प्रितम सुवेदी, सिर्जना विश्वकर्मा, भुवन राउत, सौरभ न्यौपाने, छवि पंगेनी, अशिना बराल, स्मृति श्रेष्ठ, दर्शन चन्द, देवीश्री पन्तलगायतलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उक्त तस्बिरहरु हटाएपनि शनिबार दिनभर पन्तको बलात्कारी र हत्यारालाई पक्राउ माग गर्दै धनगढी, झापा, पोखरा, विराटनगरलगायतका विभिन्न ठाउँहरुमा प्रदर्शन गरिने अभियन्ता सिर्जना विश्वकर्माले जानकारी दिइन् ।

अभियानकर्ता विश्कर्माका अनुसार निर्मला पन्तको तस्बिरसहित ‘सरकार भेटियो, न्याय भेटिएन’ नारा लेखिएको ब्यानर बिजुलीको पोलमा टाँस्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।

यसअघि मुलुकमा सरकार कहाँ छ ? भन्दै आलोचना भएको थियो । सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रत्येक बिजुलीका पोलमा आफ्नो तस्बिरसहितको डिजिटल पोस्टर राख्न निर्देशन दिँदै जता हेर्‍यो त्यतै सरकार भन्ने अभिव्यक्ति दिएका थिए ।

त्यसको दोस्रो दिन दिन बुधबार केही युवाहरुले सरकारकै शैलीमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टरहरु टाँसेका थिए । तर, बिहीबार यस कामको समर्थन गर्दै सरकारको व्यापक आलोचना भएपछि गृहमन्त्रीको निर्देशनमा प्रहरीले उक्त पोस्टरहरु हटाएको हो ।

 

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया