दुई तिहाइको दम्भले सरकार दिशाहीन र अलोकतान्त्रिक बन्दै – बिमलेन्द्र निधी

भक्तपुर / नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधीले सरकार दुई तिहाइको दम्भले दिशाहीन र अलोकतान्त्रिक बन्दै गएको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनको आज चाँगुनारायणमा उद्घाटन गर्दै उनले हत्या,  हिंसा,बलात्कार र महँगी बढ्दा पनि सरकार कानमा तेल हालेर जनहितको पक्षमा काम गर्न नसकेको बताए ।

उनले भने “यो ९/१० महिनाको अवधिमा सरकारले संविधान, सङ्घीयता, समाबेशीता र लोकतन्त्रलाई बलियो बनाउनुको सट्टा यस बिरुद्ध रबैया प्रदर्शन गरिरहेको आरोप लगाउँदै कांग्रेस रचनात्मक रुपमा सकृय र सशक्त प्रतिपक्षका रुपमा प्रस्तुत हुनुपर्ने बेला आएको छ ।”

उनले काँग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर भएकाले अब आसन्न महासमितिको बैठक पछि काँग्रेस एक ढिक्का भएर अगाडि बढ्ने बिश्वास समेत ब्यक्त गरे । यसैगरी उनले काँग्रेसको आन्तरिक द्वन्द्वकै कारण कमजोर भएको बताउँदै पार्टीभित्र आपसमा आक्रोस, कुण्ठा र दोषारोपण गर्नुभन्दा सरकारसँग टाढिदै गएका जनताको बिकल्प बन्ने गरी पुनर्जागरण अभियान थाल्नुपर्नेमा जोड दिए ।
उपसभापति निधीले भक्तपुर लगायत देशभर जनप्रतिनिधिको रीक्त रहेको स्थानमा छिटो निर्वाचन सरकारसंग आग्रह गर्दै नेपाली काँग्रेसले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, मिश्रित निर्वाचन प्रणाली शान्ति र अहिंसालाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने बताए ।

यसैगरी नेपाली काँगेसका नेता गगन थापाले एसिया प्यासिफिक सम्मेलनको नाममा एउटा गैर सरकार संस्थासँग झुक्ने सरकारले राष्ट्रिय स्वाभिमान बचाउन नसक्ने दाबी गर्दै सरकार बलियो भए पनि बरालिएको बताए ।

गगन थापाले पार्टीभित्र कठोरता र क्रुरतापुर्वक छलफल र चिन्तन गरी कांग्रेस बिगतमुखी मात्र नभई एकजुट भइ  नयाँ बाटो देखाएर अगि बढ्नुपर्नेमा जोड दिए।

उक्त कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, भक्तपुर निर्वाचन क्षेत्र नं. १ का सभापति जीवन खत्री, क्षेत्र नं.२ का सभापति नारायण खायमली लगायतले सरकारले दुई तिहाइको दम्भ देखाएर सर्वसत्तावाद चलाउन खोजेको  आरोप लगाए । कार्यक्रममा नेपाली काँग्रेसका भक्तपुरका पूर्व अगुवाहरुलाई सम्मान गरिएको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया