साढे ६ दशक लामो प्रयास पछि सम्पन्न भयो मेची पुल

झापा/ भद्रपुरका ७१ बर्षिय मोहन अग्रवाल शुक्रबार अपरान्ह नवनिर्मित मेची पुलबाट आफ्नो घर अगाडि हुलाकी मार्गमा जोड्ने सडक निर्माण भइरहेको एक टकले हेरिरहनु भएको थियो । उहाँ सानोछदा देखिनै सुनेको मेची पुल निर्माणको काम सकिएर उद्घाटनको चरणमा आँउदा उहाँ यति खेर निक्कै दंग देखिनुहुन्थ्यो ।
साढे ६ दशक लामो प्रयास र धेरै पटक शिलन्यासपछि बल्ल बनेको मेची पुल उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आँउदो २६ गते बुधबार आउने भएपछि अहिले भद्रपुरको चहलपहल नै फेरिएको छ । झापाको सदरमुकाम भएर पनि सुनसान देखिने भद्रपुरमा अहिले महोत्सब नै भएजस्तो भएको छ ।
भद्रपुरमा भेटिनु भएका हुलाकी राजमार्ग निर्देशानलय योजना कार्यन्वयन इकाइ इटहरीका प्रमुख बिजयकुमार महतोका अनुसार पुल निर्माण सम्पन्न भएको ३ सय मिटर एप्रोजरोड बनाउने काम धमाधम रुपमा भइरहेको छ । धेरै समय लाग्दैन आजभोली नै यो काम सकिनेछ, महतोले भन्नुभयो ।

प्रधानमन्त्रीले उद्घाटन गर्ने तय भएपश्चात शुरु भएको कामले अहिले स्थानीय पनि छक्क रहेकाछन् । मुआब्जाको बिबादले पुललाइ जोड्ने सडकमा रहेका स्थानीयले ठाँउ छाडन नमान्दा समस्या भएकोमा यो समस्या पनि सुल्झेको छ । २२ वटा घरपरिवारलाइ मुआब्जा दिएर ब्यवस्थापन गरिएपछि अहिले काममा कुनै समस्या छैन, महतोले भन्नुभयो । यहाँका घरहरु भत्काएर नै पुल जोड्ने सडक बनाउने काम भइरहेको पाईएको छ ।

भारतको बिहारको गलगलियासँग यसले सिधा सम्पर्क राख्ने छ । पश्चिम बंगाल र संगै जोडिएकाले बंगालादेशसंग समेत यो नाका सबैभन्दा नजिक हुने भएकाले यसलाइ महत्वका साथ हेरिने गरेको छ । प्रदेश सभा सदस्य बसन्त बाँनियका अनुसार भारततर्फ पनि नेपालतर्फजस्तै सडक जोडिनभने बाँकी रहेको छ ।

भारतको बिहारतर्फ बाट सडक लैजानेकी पश्चिम बंगालतर्फ भन्ने बिबाद रहेका कारण तत्काल पुल शुचारु नहुने होकी भन्ने चिन्ता रहेको उहाँले बताउनु भयो । हामीले भारतीय सरोकारवाला तथा जनप्रतिनिधिहरुसंग समेत यस बिषयमा बिभिन्न चरणमा कुरा गरेका छौ, बाँनियाले भन्नुभयो । पुल सञ्चालनका लागि नेपालतर्फ एप्रोज सडक बनेपनि भारततर्फ भने बन्न नसकेको जनाइन्छ । अहिले यहाँ बाँसको पुलबाट नै गाडिहरु आवतजावत हुदै आएकाको छ ।

पछिल्लो पटक २०६६ माघ २१ गते तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले पुलको अन्तिम शिलन्यास गर्नु भएको थियो । झण्डै एकदशक पछि भएपनि पुल उद्घाटनको चरणमा आइपुगेको हो । कनक सूर्य एण्ड सन्स कम्पनीले ३७ करोड ३६ लाख ५० हजार रुपियाँमा निर्माण सम्झौता गरेको थियो । ६ सय ६० मिटर लम्बाइ र १० मिटर चौडाइ रहेको उक्त पुलको भारबहन क्षमता ७० टन रहेको जनाइएको छ ।

यस्तो छ पुल निर्माणको इतिहास

२००८ सालभन्दा पहिला हिउँदभर मेची नदीमा बाँसको पुल हालेर काम चलाइने गरेको र त्यो सयमदेखि नै पुल निर्माणका लागि पहल शुरु भएको हो । २००९ सालमा भद्रपुरका व्यापारी र स्थानीय बासिन्दाले तैरिने पुल (फ्लोटिङ ब्रिज) निर्माण गर्न रकम उठाएको र काम हुन नसकेपछि तत्कालीन अवस्थामा राजश्वमा त्यो पैसा जम्मा भएको जनाइन्छ । त्यो समय भारु २ लाख ६० हजार चन्दा उठाएको पाइएको यस क्षेत्रका बासिन्दा समेत रहनु भएका पुराना पत्रकार माधव बिद्रोहीले  बताउनु भयो ।

बि.सं २०११ सालमा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला यस बिषयमा यहाँका ब्यापारीहरुले सरकारसमक्ष पुल निर्माणको माग गर्दा तत्कालीन यातायातमन्त्री भद्रकाली मिश्रले पुल बनाउने लिखित प्रतिबद्धता गरेको समेत इतिहास रहेको बिद्रोहीले बताउनु भयो । बीचमा बिभिन्न प्रयास भएपनि औपचारिक रुपमा पहिलो पटक २०२२ सालमा तत्कालीन मेची अञ्चलाधीश मनमोहन मिश्रले पुलको शिलान्याश गरेको जनाइएको छ ।

यसैगरी बि.स.२०४१ साल जेठ १५ गते तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले दोस्रो पटक फेरि पुलको शिलन्यास गर्नु भएको थियो । बि.स. २०२८ सालमा तत्कालीन युवराज वीरेन्द्रले समेत यहाँ आउदा यसमा चासो दिनु भएको थियो । त्यो समयमा यहाँ पुल बनाउन ढुंगा समेत झारिएको बुढापाकाहरुको भनाइ रहेको छ । स्थानीयले उठाएको चन्दा समेत राजालाइ बुझाएपनि काम नभएपछि पछि राजाले पैसा खाएको भन्दै यहाँ आन्दोलन समेत चर्केको थियो ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया