नेकपाका चार शिर्ष नेताद्धारा सचिवालय बैठक बहिस्कार ! ठूलै आपत् परे जस्तो गरेर किन बाहिरिनुपर्‍यो ? बिष्णु पौडेल

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार शीर्ष नेताले पार्टीको बैठक बोलाउने, पटकपटक स्थगित गर्ने र बैठक बस्ने दिन पनि पर्खाएर अपमान गर्ने परम्परा बसेको भन्दै केन्द्रीय सचिवालय बैठक बहिष्कार गरेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बोलाइएको बैठकमा पनि कुराएर अपमान गरिएको भन्दै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बहिष्कार गरेका हुन् ।

सरकारीनिवास बालुवाटारमा बैठक बसेकोमा पनि आपत्ति !

नेता वामदेव गौतमले सरकारी निवास बालुवाटारमा बैठक बसेकोमा आपत्ति जनाउनुभएको छ । उनले भने “शनिबार हामीले त्यो कुरा उठाउन पाएनौँ तर, भविष्यमा उठाइनेछ । हरेक बैठक प्रधानमन्त्रीनिवासमा हुन सक्दैन, पार्टी कार्यालयमै बस्नुपर्छ भन्ने मेरो मान्यता हो । आगामी सचिवालय बैठकमा म यो कुरा राख्छु ।”

उनले प्रधानमन्त्री शक्तिशाली भएकोले  प्रधानमन्त्रीकै अध्यक्षतामा प्रधानमन्त्रीनिवासमा बैठक बस्दा अनेक हिसाबले त्यो प्रभावित हुने तर पार्टी कार्यालयमा बैठक बस्दा यस्तो स्थिति हुनेछैन, त्यसैले पार्टी कार्यालयमै बैठक बस्नुपर्छ यदि प्रधानमन्त्री पार्टी कार्यालय जान सक्नुभएन भने अर्को अध्यक्षको नेतृत्वमा बस्ने बताए ।

ठूलै आपत् परे जस्तो गरेर किन बाहिरिनुपर्‍यो ? बिष्णु पौडेल

यसैगरी महासचिव बिष्णु पौडेलले एक्कासी असिना बर्सेजस्तो, ठूलै आपत् परे जस्तो गरेर किन बाहिरिनुपर्‍यो ? कारण बुझ्न सकिएको छैन भनि आश्चर्य प्रकट गरेका छन् ।

उनले भने “सचिवालय बैठक शनिवार ३ बजे बालुवाटारमा डाकिएको थियो । म ३ बजे नै बैठककक्षमा पुगेको थिएँ, त्यतिवेला माधव नेपाल आइसक्नुभएको थियो । उहाँलाई अध्यक्षद्वय अर्को कोठामा परामर्शमा हुनुहुन्छ, सुरु हुने वेला आइपुग्नुहुन्छ भन्ने जानकारी गराएर म काममा अर्को कक्षतिर लागेँ । त्यसबीचमा अरू कमरेडहरू पनि आइपुग्नुभो । उहाँहरू सवा ३ बजेसम्म बस्नुभो र बाहिरिनुभो । उहाँहरू किन बाहिरिनुभो अचम्मित भएका छौँ ।”

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया