“यमराज” हरुको राजधानी काठमाण्डौं

मान्छेहरुले भन्ने गरेका छन् र मैले सुन्ने गरेको छु कि यमराज भनेको काल वा मृत्यु हो । यसलाई कसैले देख्न र सुन्न सक्दैनन् । यो आउदा न त बाजा बजाएर आउछ न त सूचना दिएर नै । यो त खुसुक्क आउछ र टपक्क टिपेर लैजान्छ । यो कहिले आउछ  र कसरी आउछ  कसैलाई थाहै हुदैन । यसको कार्ययोजना अन्तर्गत धर्तीका सवै प्राणीहरु पर्दछन, निगरानी गरिरहेका हुन्छन र सवैको आ आफनो मिति पुगेपछि आफसे आफ मृत्युवरण गर्नु पर्दछ ।

हो, म पनि यो कुरामा विश्वास गर्छु कि यमराज आईसकेपछि जो कोहीले मृत्युवरण गर्नुको विकल्प छैन । तर यमराज देखिन्दैन र सुन्न सकिन्दैन भन्ने कुरामा मेरो फरक धारणा छ ।

म त भन्छु यमराजलाई सजिलैसंग देख्न सकिन्छ । यो अदृष्य चाहि पक्कै होईन । म विहान उठेदेखि वेलुकासम्मको आफनो कामको सिलसिलामा दौडिरहंदा जताततै यमराज नै यमराजहरु देख्ने गरेको छु । म जहिले पनि यमराजहरुको भिडमा ठेलमठेल गरेर हिडिरहेको हुन्छु । यमराजहरुसंग कुम ठोक्काएर हिडिरहेको हुन्छु । यमराजहरुले मलाई पछ्याईरहेको देख्छु । मेरो अगाडि र पछाडि गर्दै यमराजहरु कुदिरहेको देख्छु । आफु हिडने वाटोभरी अगाडी पछाडी यमराज नै यमराजहरु देख्छु । तर आफनो बांच्ने र जिउने समय नसकिकन यमराजहरुले पक्कै पनि कसैलाई केही गर्दो रहेनछ । यमराजहरु पनि आफनै कार्यमा व्यस्त हुंदा रहेछन् ।

सन्दर्भ, राजधानीको अस्तव्यस्त र अव्यवस्थित शहरको हो । म जव सवारी साधनमा हुंईकिरहेको हुन्छु तव अगाडि ठुला ठुला खाल्डाखुल्डी आउछ र यसवाट वच्नको लागि मैले धेरै ठुलो जोखिम मोल्नु पर्ने हुन्छ । ती खाल्डाहरुलाई यमराजको रुपमा लिएको छु । कुनै पनि वेला ती खाल्डाहरुले मेरो ज्यान लिन सकछन् । सडकभरि लतारिएको विजुलीको तार, टेलीफोनको तार, केवललाईनको तार आदी आदी यमराजको रुपमा उभिएको देख्छु । कुनै पनि वेला जो कोही यसमा अल्झिएर ज्यान जान सक्छ । त्यस्तै गरि ढल्न लागेका विजुलीका पोलहरु यमराजकै रुपमा देख्छु । कतिको त ज्यान गईसकेको छ यी यमराजहरुले गर्दा ।

असन, पाटन र भक्तपुर शहरभित्र छिरेर हेर्ने हो भने त्यहां धेरै यमराजहरु देख्न र पाउन सकिन्छ जहां टेका लगाएर जोगाएका घर, पाटी, पौवा र मन्दिरहरु छन् । यसले कुनै पनि वेला ज्यान लान सकिने छ । मेरो मोटरसाईकलको अगाडि र पछाडि तिव्र गतिमा हुईकिने माईक्रोवस, मोटरसाईकल, साझा वस, ट्याक्सी, ट्रिपरहरु सवै यमराजको रुपमा देख्छु म । यिनीहरु अरुलाई ठक्कर दिन खोज्दै हुईकिरहेका हुन्छन् र तिव्र गतिकै कारण धेरैको ज्यान लगिसकेका यी यमराजहरुले । सधैं सवैलाई पछ्याईरहेका हुन्छन् । कति बाईकले त लुकिङ ग्लास र लेगगार्डमा ठोकाउदै हुईकिरहेका हुन्छन् । दिनभरि धरापै धरापमा म कुदिरहेको हुन्छु । कुनै पनि यात्रुवाहक साधनहरु यमराजको रुपमा देख्छु म । नियम विपरित सवारी साधन कुदाउदा कारवाही गर्ने ट्राफिक प्रहरीहरु यमराजलाई व्यवस्थित गर्न खोजेको देख्छु । मानिसले पनि यमराजलाई व्यवस्थित गर्न सकिदो रहेछ भन्ने कुरा बुझछु म । सरकारले चाहियो भने यमराजहरुलाई शहरबाट टाढा टाढा धकेल्न र फाल्न सकिन्छ भनेर पनि मैले वुझने गरेको छु । घण्टौसम्म पर्ने जामको अगाडि पछाडी यमराजहरु हुन्छन् । घरको कौशीकौशीमा राखेका गमलाहरु यमराज हो भन्छु म । ठेलमठेल र कोचाकोच गरेर यात्रु कोच्ने गाडी, चालक र सहचालकहरु यमराज नै हो भन्छु म । जेव्रा क्रसिङको ख्याल गरिदैन यहा त्यो यमराज नै हो । जथाभावी सडक पार गर्ने पैदलयात्रीहरुलाई बचाउन खोज्दा दुर्घटना हुन्छ र ज्यान जान्छ त्यसैले पैदल यात्री पनि यमराज नै हो भन्छु म ।

राजनितिक दृष्टिकोणबाट पनि चारैतिर यमराज नै यमराजहरु मात्र देख्न थालेको छु । परिवर्तनको नाममा होस वा विकासको नाममा होस वा राजनितिको नाममा जनताहरु मार्ने यमराजहरु यहां खुलेयाम हिडिरहेका छन् । ईन्काउन्टरको नाममा ज्यान लिने यमराजहरुले राज गरेका छन् यहां । हजारौ जनताहरुको मृत्युवरण गराउने यमराजहरुले राजगर्ने थलो हो काठमाण्डौं । गुन्डागर्दि र ठगी गर्नेहरु यमराज नै हुन । हात हातमा रहेका मोवाईलबाट चलाउने फेसवुक पनि यमराज नै सावित भएका छन् मेरा लागि । यसवाट धेरैको ज्यान जाने गरेको छ । धेरैलाई पलपल र मिनेट मिनेट मृत्युवरण गर्दै बाच्न वाध्य तुल्याएका छन् यी यमराजहरुले । अपहरण र लुटपाट गर्दै हिडिरहेका छन् यहा यमराजहरु ।

यी यमराजहरुलाई नियन्त्रण र व्यवस्थित गर्ने कस्ले होला भन्ने कुरा मेरो मनमा आईरहन्छ । हरेक क्षेत्रमा खुलेआम यमराजहरु डुलीरहेका छन् यहां । यमराजहरु डुलीरहेको कसैलाई अत्तोपत्तो छैन जस्तो भान हुन्छ मलाई । धन्य छ यमराज तिमीलाई कि काठमाण्डौंलाई आफनो राजधानी बनाउन सक्षम भएकोमा ।

 

सम्बर वहादुर लामा

(लेखक)

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया