धर्तीको स्वर्ग “नगरकोट”

भनिन्छ स्वर्ग सुन्दर हुन्छ रे .. त्यहा कुनै पनि पापीहरुको उपस्थिति हुदैन रे …. धर्म गरेर मर्नेहरु मात्र सहभागी हुन्छन् रे .. त्यहा सुन्दर वगैचा र मनमोहक दृष्यहरु हुन्छन् रे .. त्यहा कुनै पनि चिजको अभाव हुदैनन् रे र झै झगडा लडाई केही हुदैनन् रे .. त्यो वगैचामा परीहरु मात्र खेल्ने र घुमफिर गर्ने गरिन्छन् रे ..

अनि म एकदम गम्भिर भएर सोच्छु कि स्वर्ग कस्तो होला ? भनेर  । मेरो मनमा अनेक थरिका तरंगहरु आईरहन्छन् र दिमाखमा घोचीरहन्छन् कि स्वर्ग कस्तो होला ? र कहा होला भनेर …

जति सोचेपनि र जति नै घोरिएर विचार गरे पनि अनि जति नै कल्पना गरेपनि ती सवै कल्पना नै हुदो रहेछ र स्वर्ग त अदृष्य स्थानमा हैन यहि धर्तिमा दृषित ठाउमा पाउदो रहेछ भन्ने सोच तर्फ मेरो मानसपटलको गन्तव्य वदलिएको छ ।

हुन त हाम्रो देश नेपाल आफैंमा सुन्दर र पवित्र छ । हरेक दृष्टिकोणबाट यहा जैविक विविधता छ । विश्वभित्रको नेपाल र नेपालभित्रको “नगरकोट” । मेरो लागि यहि नाम काफी छ कि म यो स्वर्गभुमिमा जन्मन पाए र आफनो परिचयको पछाडि यो नाम झुन्डयाउन पाएँ … सायद यो अवसर नगरकोट वासी वाहेक अरुले पाउन केहि कठिन नै हुन सक्छ …

हो, नगरकोटको सुन्दरताको वारेमा जति मलाई थाह छ र जुन दृष्टिकोणवाट मैले वुझेको छु त्यो अरुको वुझाई पृथक हुन सक्छ । मेरो “नगरकोट” नदेखेको स्वर्गको सुन्दरता र क्षितिजको रुपमा बखान गर्नु भन्दा देखेको स्वर्ग “नगरकोट” हो भनेर भन्छु म । यहाको सुन्दरताले कसलाई छोएको छैन होला ? कसको मन बरालिएन होला ?

 

प्रकृतिले सजाएका छन् यहाका वन जंगललाई, मानिसले जस्तै चिया वगान समान । ती जंगलका माझबाट वगेको छ “बहाल खोला” सुन्दरीको सिउदोको रुपमा सललल … अनि झर्न पुग्दछ “टुंडी” को छागामा । सल्लाघारीको माझबाट नागवेलीको आकारमा गुडिरहने यात्रुवाहक गाडीहरु लुकामारी खेल्दा मलाई पनि लुकामारी खेलौ खेलौ झैं लाग्छ । मण्डप गिरी पहाडमा फुलेका गुराँसहरु अनि गाउका घर आंगनमा फुलेका लालुपाते र सडक वरीपरिका विशाल वृक्षहरुमा फुलेका सुनाखरीहरु देख्दा रंगीचंगी चोलीमा सिगारे झै लाग्छ मेरो गाँउ “नगरकोट” साह्रै नै सुन्दर र मनमोहक छ । सडकको कुना कुनामा कुर्लिरहने ढुकुर, नाचीरहने जुरेली, चारा टिप्दै गरेका कालिज र तित्राहरु, पाखाभरि आफनो आहारा खोजीरहने वंदेल र मृगहरु, आफनौ तरिकालो शिकार गर्दै गरेका चितुवा र स्यालहरुले अझ मोहत बनाएको नगरकोटलाई । हो यदि तपाई पंक्षि र जनावरहरु हेर्नको लागि सदर चिडियाखाना धाउनु पक्कै पनि पर्दैन किन कि यहा प्रत्यक्ष रुपमा अवलोकन गर्न दिईन्छ सुन्दर नगरकोटले । महाभुकम्पले शिथिल बनाएपनि कति पनि आत्तिएका छैनन् मेरी नगरकोट । उ तथमस्त छ, न कसैको डर, न कसैको ईष्र्या ।

उत्तरतिरबाट लस्करै उभिरहने हिमश्रृंखलाहरुले अंकमाल गर्दै नगरकोट तिमी म बाट टाढा टाढा नजाउ है भन्दै गरेको आभाष सवैले कहा महशुष गर्न सकिन्छ र .. सुर्यको पहिलो किरणले चुम्दाको अवस्थामा लजाएर निहुरिएर वस्छे मेरी “नगरकोट” कसैले देख्ला कि भनेर । अरु धेरैले सुर्यले चुम्वन गरेको हेर्न आउने गरेका छन् तर म जहिल्यै पनि लजाएकि नगरकोटको त्यो लजालुपनलाई सम्मान गर्दछु । जव दिन छिपिदै आउछ अनि म भन्छु तिमी लजाएकी हुनाले मैले हेरिन है ….. अझै लजाउदै जान्छे अनि कुहिरोमा लुक्न खोज्छे र चिसोचिसो मौसम बनाएर आनन्दित तुल्याउन खोज्छे र सिमसिम पानीको शितलतामा अरुलाई आनन्दित तुल्याउछे । धन्य छ तिमीलाई । एकै छिनमा आफनो स्वरुप परिवर्तन गर्न सक्ने क्षमता स्वर्गकी परीहरुसंग पनि छैन होला सायद … तर तिमीसंग अदभुत शक्ति छ त्यसैले तिमी अजम्वरी छौ र सवैको मनमा वस्न सकेको छ ।

शान्तिको लागि शान्ति उद्यानले तपाईहरुलाई पर्खिरहेको हुन्छ र नगरकोट आउने कुनै पनि पर्यटक वा पाहुनाको लागि म जति सक्दो शान्ति दिन तयार छु भन्छ मेरी “नगरकोट” । आजको विश्व अशान्तितर्फ धकेलिरहदा नगरकोट सांच्चै शान्तिको प्रतिक हुदैछ र बनाउदै छ यहांको “शान्ति डाडाले” ।

नगरकोटको आगनबाट काठमाण्डौ उपत्यकाको दृष्यावालोकन गर्दाको मज्जा अर्कै छ । यहाबाट स्पष्ट देखिने धरहरा त भुईचालोले ढलायो तर अन्दाज गर्न सकिन्छ यहिनिर थियो भनेर । चन्द्रागिरी, फुलचोकी, शिवपुरीसंग आत्मियता गास्दै वस्ने नगरकोट अरु भन्दा पृथक र सुन्दरी छे ।

तिमीमा नभएको चिज के नै छ र ? आफनो साथमा जालपादेवी, कालीका भगवती माई, महादेवको कुण्ड (महादेव पोखरी), चमेरो गुफा, पञ्चकन्या मन्दिर, महांकाल मन्दिर सवैलाई साथमा लिई वसेको हुनाले तिमीलाई कसैले पनि नजर लगाउन नसकेको सत्य हो । तिम्रो सुन्दरतालाई धेरैले आखा गाडे पनि तिमी अटल छौ र अचल छौ ।

तिम्रो पाउ र वाया क्षेत्रमा सुनगाभा झै झुलेका धानका वालाहरु र आलीको डिलडिलसम्म  भरिएका पानीका तलाउहरु देख्दा म आफैलाई साह्रै गर्वशाली ठान्दछु र हिलोलाई पनि सुनको डल्लो सम्झेर म त्यसैमा खेल्ने गर्दछु ।

यहा आउने पाहुनाहरुको स्वागत र सत्कारका लागि नगरकोटको गाला र चिउडोभरि सजिएर वसेका छन् सुविधा सम्पन्न आराम गृहहरु ।

अनुरोध गर्न चहान्छु सवैलाई,

यदि तपाई प्रकृतिसंग प्रत्यक्ष संलग्न भई आनन्दित हुन चहानु हुन्छ भने अवश्य नगरकोट आउनुस । यहाको शान्तिमय शान्ति डांडाले अझ तपाईको मनलाई आनन्दित तुल्याउने छ । एकछिन संसार विर्सेर सोच्न वाध्य तुल्याउने छ । यदि तपाई सांच्चै कुहिरोमा केही वेरको लागि भएपनि हराउन चहानु हुन्छ भने त्यो सुविधा पनि यहा छ । यदि तपाई सिमसिम पानीमा रुज्दै घोडा चडेर सफर गर्न चाहनु हुन्छ भने अवस्य आउनुहोस । विहानको सुर्योदय र सांझको सुर्यास्तको अतुलनीय दृष्यावलोकनको लागि यो विश्व मै कहलिएको ठाउ हो ।

 

त्यसैले म भन्छु …

मेरो नगरकोट

फूलहरुको हुल्मा गुलाफ्को फुल हो नगरकोट,

माया गर्नेहरुको हुल्मा प्रीतिको फूल हो नगरकोट,

 

स्वर्ग नदेख्नेहरुको लागी स्वर्गको टुक्रा हो नगरकोट,

सबैको सामु उभिएको राजधानिको शिर हो नगरकोट,

 

सन्सारमा हुने जाडो र गर्मिको प्रतिस्पर्दामा,

संसारलाई नै जित्ने पबित्र र शितल हो नगरकोट,

 

बिछोडिएर भौतारिने प्रेमी प्रेमिकाहरुको हुल्मा,

दुइ आत्मालाई जोडी दिने पुल हो नगरकोट,

 

घुम्दै आउछन कोर्दै गाउछन यहाँ,

साहित्य सृजनाको लागी मूल हो नगरकोट,

 

अशान्ति र पिडाको भुमरीमा निस्सासिने हरुको लागि,

शीतल्, चोखो पानीको बुल बुल हो नगरकोट,

 

हेर्नै पर्ने देख्नै पर्ने ठाउँहरुको हुल्मा,

दुखस्पिडा बिर्सनको लागी प्रकृतिको पल हो नगरकोट,

 

क्रमशः सम्बर बहादुर लामा

 

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया