भक्तपुरमा संस्थापन भन्दा राप्रपा प्रजातान्त्रिक बलियो


भाद्र,१४ भक्तपुर / पार्टी विभाजन पछि आज राप्रपा प्रजातान्त्रिक भक्तपुरको अगुवा कार्यकर्ताको बैठक सम्पन्न भएको छ । राप्रपा भक्तपुर जिल्ला कार्यसमितिमा अध्यक्ष दिनेश श्रेष्ठ, सचिव मुकुन्द कार्की, जिल्ला सदस्यहरु रवि कृष्ण श्रेष्ठ, श्याम नेपाल, नरगोविन्द शंखदेव, भुवन ढुंगेल, डोल बहादुर कार्की र बालकृष्ण न्यौपाने लगायतका बाहेक बाकी सबै दुई तिहाइभन्दा बढी जिल्ला सदस्यहरू एवं पदाधिकारी राप्रपा प्रजातान्त्रिकमा आबद्ध भएका छन् । यसैगरी केन्द्रीय सदस्यहरू रविन्द्र प्रताप शाह, सुरेन्द्र केसी र रामेश्वर थापा तथा पुर्व जिल्ला अध्यक्ष रामशरण लामिछाने पनि राप्रपा प्रजातान्त्रिकमा पार्टी दर्ताको समय देखि नै सकृय थिए भने राप्रपामा अब भक्तपुरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यमा यवती कार्की मात्रै छिन् ।
त्यस्तै क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष बच्चुराम पराजुली लगायत सम्पूर्ण क्षेत्रीय कार्यसमितिले राप्रपा प्रजातान्त्रिकलाई समर्थन गरेका छन् । क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष नारायण थापाले स्थानीय तहको निर्वाचन पछि पदबाट राजिनामा दिएर बसेका छन् भने दुई तिहाई क्षेत्रीय पदाधिकारी एवं सदस्यहरू राप्रपा प्रजातान्त्रिकमा आवद्ध भएका छन् ।
भक्तपुरका चार नगरपालिका मध्ये चाँगुनारायण र भक्तपुर नगरपालिका नगर अध्यक्ष धन बहादुर लामा र राजेन्द्रप्रसाद लाख पनि पुरै नगर कार्यसमिति सहित राप्रपा प्रजातान्त्रिकमा सामेल भएका छन् भने सुर्यविनायक र मध्यपुर थिमी नगरका अध्यक्षहरु मात्र संस्थापनमा छन् । उक्त नगरपालिकाका अधिकांश पदाधिकारी एवं सदस्यहरूले पनि संस्थापन छोडेर नयाँ पार्टीमा लागेका छन् । युवा, विद्यार्थी, महिला र भुपु सैनिक संगठनले पनि राप्रपा प्रजातान्त्रिकलाई समर्थन गरेका छन् । भक्तपुरमा राप्रपा जिल्ला अध्यक्ष मा.दिनेश श्रेष्ठ कार्यकर्ता माझ अलोकप्रिय भएको कारणले पनि राप्रपा प्रजातान्त्रिक तर्फ सबैको आकर्षक बढेको एक जिल्ला नेताले बताएका छन् । उनको भनाइ अनुसार “केन्द्रमा जस्तो कमल थापाले हुकुमी शासन चलाउछन् त्यस्तै सिको गरि दिनेश श्रेष्ठले पनि हुकुमी शासन र अरुलाई दबाएर राख्ने कार्य गर्ने गरेको कारण अब संस्थापन राप्रपामा नेता मात्रै बाकी रहने छन् ।”

यसैगरी आजको बैठकले कमल थापाको सर्वसत्तावादी र हुकुमी निरंकुशताको विरुद्ध उठाइएको अध्यक्ष पशुपतिशमशेर जबराको कदमलाई सहर्ष स्वीकार गरि राप्रपा प्रजातान्त्रिकको पक्षमा सशक्त रुपमा लाग्ने निर्णय समेत गरेको छ । साथै जिल्ला लगायत सम्पूर्ण राप्रपा कार्यकर्ताहरूलाई राप्रपा प्रजातान्त्रिकमा गोलबद्ध हुन आव्हान समेत गरेको छ ।
अब राप्रपा प्रजातान्त्रिक भक्तपुरले छिट्टै जिल्ला कार्यसमिति, क्षेत्र, नगर र वडा कार्यसमिति समेत गठन गर्ने भएको छ । अब गठन गर्दा संस्थापनबाट आएकालाई जुन पद थियोे त्यहीँ पदमा राखी खाली भएको ठाउँमा मात्रै नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया