फोहोरी “राजधानी र राजनीति”

राजधानी र राजनीति सधैं फोहोर हुदो रहेछ भन्ने मेरो दिमाखमा बसेको छ र यो पनि सत्य हो कि दिमाखवाट हटाउन खोज्छु जादै जादैन । यो दुई चीज जुन नेपालमा भईरहेको छ यसले समग्रमा देशको अवस्था, जनताको पिडा, अस्तव्यस्त नै हो भनेर ऐनामा आफनो रुप झैं स्पष्ट रुपमा देखाईरहेको छ । यो अवस्थाले यो पनि स्पष्ट रुपमा देखाउछ कि अझै नेपाल विकासको बाटोमा सहि तरीकाले जानको लागि सयौं वर्ष लाग्ने छ ।

कुनै पनि मुलुकको विकास हुनको लागि वा सुरुवात हुनको लागि वा विकासको क्षेत्रमा तिव्रता दिनको लागि सवै भन्दा पहिला व्यवस्थित हुनु पर्ने चिज हो “राजनीति” । जब राजनीति विग्रन्छ तब हरेक क्षेत्रमा यसको प्रत्यक्ष वा अप्रत्यक्ष असर परिहाल्छ । राजनीतिले सहि दिशा निर्देश गर्न सकेको खण्डमा अवश्य पनि सवै क्षेत्रका विकासको क्रम नियमित र सुचारु रुपले निरन्तर रुपमा जान सक्छ ।

मैले सानैदेखि काठमाण्डौको फोहोरको डंगुर देख्दै आएको छु र यसवाट नाक र मुख लुकाउदै हिडनु परेको चार दशक भईसक्यो । यति ठुलो समयको अन्तरालसम्म पनि यसले कुनै पनि ठोसको रुपमा मोड लिन सकिएन । आजको मितिसम्म पनि यहा फोहोरको डंगुरबाट छि छि गर्दै यात्रा गर्नु पर्ने अवस्था छ । भनिन्छ देशमा आमुल परिवर्तन भयो रे … व्यवस्था परिवर्तन भयो रे….. मानिसहरुको सोचमा परिवर्तन आयो रे …. अबको मानिसहरु भनेको पहिलाको जस्तो होईनन् रे … आदी आदी । तर म त आज पनि देख्दैछु कुनै पनि परिवर्तन र सोच अझै पनि आएको छैन । हामीलाई  वागमतीको दुर्गन्ध पचिसकेको छ, हप्ता दिनसम्म कुहिएका फोहोरको बास्ना पचाईसकेका छौं, धुलो र मैलो पचाईसकेका छौ । यसमा चाहि परिवर्तन भएर अझ धेरै फोहोर र दुर्गन्ध पचाउन सक्ने गरि हामीमा परिवर्तन आएको मैले पाएको छु ।

जबसम्म राजनीति स्थिर हुन सक्दैन तबसम्म कुनै पनि विकासका कार्यहरु स्थिर हुनै सक्दैनन् । किन भने हरेक दल वा पार्टीको समर्थनमा जुनै पनि निकायमा संगठनहरु सक्रिय छन् । सबै  क्षेत्रमा राजनीतिले जरो गाडेको अवस्था हो यो । काठमाण्डौको फोहोर व्यवस्थापनमा पनि यहि सिद्धान्त लागु भएको हो र यो कहिलेसम्म जान्छ भन्ने कुनै सुनिस्चिता छैन । यो प्रकृयाले भविष्यमा अझ धेरै अन्यौलता र जटिलता थप्दै लैजाने पक्का छ । मलाई याद भए सम्म २०४५ सालदेखि राजधानीको फोहोर व्यवस्थापनमा देखिएको समस्या जस्ताको तस्तै छ । केही समय समाधान भएको जस्तो हुन्छ,  अनि फेरी त्यहि दोहोरिरहन्छ । राजधानी शहरमा फोहोर देखिनु भनेको देशको राजनीति नै फोहोरी छ भन्ने हो र यसलाई शुद्ध पार्दै लैजानु आजको आवश्यकता पनि हो ।

मलाई एउटा सार्है नै मनमा लागिरहेको कुरा के हो भनेः हाम्रो देशका हरेक क्षेत्रका महानुभावहरु दैनिक जसो विदेश शयर गरेका नै हुन्छन् । चाहे मन्त्री,  नेता,  कर्मचारी,  डाईरेक्टर,  डाक्टर,  ईन्जिनियर,  विद्यार्थी साथै व्यक्ति विशेष आदी आदी । हरेक मन्त्री,  कर्मचारी सवैले कुनै न कुनै विदेशी भुमिमा यात्रा गरेकै हुन्छन् । सरकारी कर्मचारीहरु धेरै नै विदेश यात्रामा भनेर समाचार पनि पढेकै हुं । चाहे त्यो अवलोकन भ्रमण होस वा उपचार गर्न होस वा पर्यटकीय रुपमा होस वा वैठक र गोष्ठीमा होस वा अन्य कारणले नै होस,  आखिरी विदेशीको राजधानी कस्तो रहेछ ?  त्यहांको सडक कत्रो र कस्ता रहेछन् ? त्यहाँको सिस्टम के रहेछ भन्ने कुरा आखाले प्रत्यक्ष रुपमा देखेकै हुन्छन् र आफुले पनि महसुस त गरेकै हुन्छन् । ती आंखाले देखेका व्यवस्थित शहर र स्वच्छ वातावरण हाम्रो नेपालमा पनि कोसिस गर्यो भने सम्भव छ र यसलाई म नेपाल फर्केपछि मेरो सेक्टरमा शुरु गरिहाल्छु भनेर किन आट गर्न सक्दैनन् ? हरेक प्रधानमन्त्री,  मन्त्री,  नेताहरु अमेरीका, जापान,  वेलायत,  चीन,  सिंगापुर आदी जस्ता विकसित देशहरुमा भ्रमण गरेका हुन्छन नै र त्यहाँको जस्तो हामीले पनि गर्नु पर्छ भनेर किन सोच्न सक्दैनन् ? सररररररर… राज्यको ढुकुटीमा विदेश घुम्यो आयो सिध्यो । आखिरी यो कहिलेसम्म त ? यो तर्फ सोच्ने हामी जनताले पक्कै पनि होईन । यसको सहि रोडम्याप र सहि दिशा निर्देश गर्ने काम मन्त्री,  नेताहरु र सम्वन्धित मन्त्रालय कै हो । उहांहरुले विदेशमा देखेका कुराहरु यहाँ किन लागु गर्ने कोसिस गर्दैनन् ? जनता त जे नियम ल्यायो त्यही अनुरुप चल्ने न हो । के हाम्रो विकासको गति “०” अवस्थामै हो र ?

मेरो आखाले भ्याएसम्म चारैतिर देख्छु दिक्क लाग्छ ˸ 

एउटै खम्वामा चराको गुंड झै (विजुली, फोन, केवल), तारहरु जगल्टीएका छन् । जताततै तार चुंडेर लत्रिएका छन् । सडक वारपार जताततै फोहोरको डंगुर र दुर्गन्ध छ । जेब्रा क्रसिङहरु मेटिएका छन् । विजुलीका पोलहरु ढल्कीएका छन् । ट्राफिक लाईटहरु सवै विग्रेका छन् । पुल र खोलामा फोहोरले भरिएका छन् । खाल्डाखुल्डीहरुमा सवारी साधन आधा डुवेर गुडिरहेका छन् । हरेक गाडीहरुमा भेडावाख्रा झैं यात्रुहरु कोचेका छन् । जताततै ढल फुटेर बाटोभरी बगीरहेका छन् । जताततै मूलबाटोहरुमा निर्माणका सामाग्रीहरु थुपारेका छन् । सडकभरि फुटपाथमा पसलहरु सञ्चालन भएका छन् । जो कोहीले सडकमा फोहोर फ्याकेका छन् । आदी आदी ….

जब सार्क शिखर सम्मेलन जस्ता अन्तर्राष्ट्रिय सभा सम्मेलन आउछ सडकमा भ्याकुम लगाउने र बढार्ने गाडीहरु देख्छु तर अहिले ती देख्न पाइदैन शहरमा,  सायद थन्किएका होलान विग्रेर ।

यी सबै  हुनुमा सबैभन्दा पहिले त राजनीति नै हो भन्ने लाग्छ मलाई । जब राजनीति सफा र स्वच्छ हुदैन तबसम्म यो दुर्दशा रहिनै रहने छ ।

कर्मचारीहरुको मनोबल दिनानुदिन घटिरहेको छ । कुनै पनि कर्मचारीहरु ढुक्कले काम गर्न पाउदैनन । उनीहरुलाई एउटै चिन्ता हुन्छ कि म कुन मन्त्री र कार्यालय प्रमुख आयो भने कुन ठाउमा सरुवा भएर जानु पर्ने हो भनेर । सरकार त्यसैमा रुमल्लिएको देखिन्छ । सरकारको काम भनेको कर्मचारीहरुलाई आफु सुहाउदो र आफु अनुकुल सरुवा र वढुवा गर्ने मात्रै हो भन्ने भान हुन्छ । कुनै पनि तरीकाले निष्पक्ष काम गर्ने वातावरण यहाँ देखिदैन । प्रहरी प्रशासनदेखि नियगमसम्म आफ्नो मान्छेहरुलाई नियुक्ति गर्ने होडवाजी सरकारमा पुगेपछि शुरु हुन्छ । सबै कर्मचारीहरु पनि शक्ति केन्द्र धाउन वाध्य तुल्याएका छन् । अहिले देशमा देखिएको राजनीति किचलोले सवैलाई दिक्दार बनाई सकेको छ । दलहरु सधै आफ्नै अडान र अनावश्यक अड्को थापेर जुहारी खेल्न खोजेको देखिन्छ । एकै चरणमा सम्पन्न गर्नु पर्ने चुनाव तीन चरणमा गर्नु भनेको राजनीतिक किचलो नै हो । यसले हरेककलाई नोक्सान र हानी पक्कै पुर्याएको छ । राजनीतिक दलहरु पनि टुक्रिने र फुटने प्रवृति वढदै गईरहेको छ जसलाई कुनै न कुनै पक्षले प्रयोग गरिरहेका हुन्छन् । राजनीतिमा सत्तामोहको  अन्त्य नभएसम्म न त राजधानी सफा हुन्छ न त राजनीति नै । सवै कुराहरु थाह भएर पनि फोहोरी राजनीति गर्ने हाम्रो नेताहरुको व्यवहारले हरेक नागरिक आजित भईसकेका छन् ।

जबसम्म राजनीतिलाई सहि दिशामा व्यवस्थापन गरिदैन र सहि दिशामा मोड्न सकिदैन तबसम्म राजधानीबासीले फोहोरको गन्ध सुघ्नु पर्ने नै छ । यसलाई आजैको मितिबाट व्यवस्थापन गर्ने प्रतिवद्धता र प्रयास भएन भने आगामी दिनमा यो झन जटिल बन्दै जाने छ र यसले हरेक क्षेत्रलाई नकारात्मक प्रभाव पार्ने पक्का छ ।

सम्बर बहादुर लामा

(लेखक)

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया