अर्को पटक दलहरूले रोज्ने मन्त्रालय बनाउछु , बोहरा

 भाद्र २६, काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले आज राप्रपाबाट फुटेर बनेको नयाँ दल राप्रपा प्रजातान्त्रिकका संसदीय दलको नेता दीपक बोहराको नेतृत्वमा एक राज्य मन्त्री सहित ४ जना मन्त्री नियुक्त गरि मन्त्रिपरिषद विस्तार गरेका छन् । यसैगरी दीपक बोहरा बिज्ञान तथा प्रविधि, सुनिल बहादुर थापा उद्योग, विक्रम पाण्डे वन तथा भू-संरक्षण र रेशम लामा उद्योग राज्य मन्त्री हुने गरि आजै मन्त्रिपरिषद्को कार्य विभाजन समेत गरिएको छ ।
आजै मन्त्री पदको पदभार ग्रहण गरेका मन्त्री दीपक बोहराले मन्त्रालयका सचिव लगायत कर्मचारीहरूलाई निर्देशन दिदै बिज्ञान तथा प्रविधि मन्त्रालयमा कुनै पनि दलका मन्त्री भएर आउन नमानेका कारण अर्को पटक यस मन्त्रालयलाई दलहरूको पहिलो रोजाईको मन्त्रालय बनाउन आफू मन्त्री भएर आएकोले सोही अनुसार काम गर्ने र सम्पूर्ण कर्मचारीहरूलाई पनि अग्रसर भएर काम गर्न निर्देशन दिए ।
उनले अहिलेको युग प्रविधिको युग भएकोले जनताको पहुँचमा पुग्ने गरि प्रविधिको यथेष्ट विकासका लागि आफू अग्रसर हुने बताए । नेपालमा प्राकृतिक प्रकोपले दुःख दिइरहने भएकोले समयमै यसको जानकारी जनताले पाउने खालका प्रविधिको विकास आजको आवश्यकता भएको र उक्त खालका प्रविधिको विकास गरि जनधनको क्षति हुनबाट जोगाउनु आफ्नो प्रमुख लक्ष्य भएको बताए ।
यसैगरी अबको केही दिन भित्रै नेपाल राजपत्र सम्पूर्ण जनताले सहज र सुलभ तरिकाले पढ्न पाउने गरि नेपाल राजपत्रको एप्स संचालन गर्ने बताए ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया