झनै सङ्कटमा थापा-राप्रपा प्रजातान्त्रिकमा दश केन्द्रीय सदस्य थपिएको राणा पक्षको दाबी

पशुपतिशमशेर राणाको नेतृत्वमा गठित राप्रपा प्रजातान्त्रिकलाई आफ्ना पक्षका केन्द्रीय सदस्य र सांसद्को सनाखत गराउन आइतबार साँझ बसेको निर्वाचन आयोगको बैठकले आगामी भदौ ४ गतेको मिति तोकेको छ।

यही साउन २२ गते निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको राप्रपा प्रजातान्त्रिकले आयोगमा उपस्थित ६५ जनाको सनाखत गराएको थियो र उसले सनाखतका लागि अनुपस्थित रहेका ७४ जनाको नाम आयोगमा बुझाएको थियो ।

‘कमल थापा र गणेश थापाले केन्द्रीय सदस्यहरुलाई धम्क्याउने काम गरिरहेका छन्। यता दर्ता भएन भने राजनीति सकाइदिन्छु भन्ने गरेका छन्,’ थापा निकट रहेर काम गरेका ती केन्द्रीय सदस्यले भने, ‘त्यही कारण हामीलाई छिटो दर्ता आवस्यक छ।’

उनले दर्ता भएसँगै कमल थापाको निकट मानिएका केन्द्रीय सदस्यहरु नै प्रजातान्त्रिकतर्फ सहभागी हुने बताए।

१० केन्द्रीय सदस्य थपिएको दावी

राप्रपा प्रजातान्त्रिकले आफ्नो पक्षमा थप १० केन्द्रीय सदस्य आएको दावी गरेको छ। पार्टी एकतापछि एकीकरणको मर्म विपरित पार्टी संचालन गरेको भन्दै राप्रपा प्रजातान्त्रिक गठन गरेको समूहले अहिले बढीभन्दा बढी केन्द्रीय सदस्य ल्याउनकै लागि निर्वाचन आयोगमा थप १० दिनको समय मागेको थियो।

आइतबार आयोगले सनाखतका लागि बोलाएकोमा केही केन्द्रीय सदस्य देश बाहिर तथा केही केन्द्रीय सदस्य कमल थापाकै नियन्त्रणमा परेका कारण केही दिन आवस्यक भएको बताएको हो।

‘निर्वाचन आयोगकै आग्रहमा हामीले आयोगमा उपस्थित भएर गत साउन २२ गते नै सनाखत गरेका थियौ,’ राप्रपा उपाध्यक्ष तथा अहिले प्रजातान्त्रिक तर्फका नेता दीपक बोहराले भने, ‘हामीले पहिले भइसकेको सनाखत कायम गर्न निवेदन दिएका छौं।’ उनले त्यससँगै थप सनाखतका लागि १० दिनको समय मागेको जानकारी दिए।

‘हामीसँग थप १० केन्द्रीय सदस्यले आफूहरुलाई आउन केही दिन लाग्ने जानकारी दिएकाले संस्थापकभित्रै नाम राख्नका लागि निर्वाचन आयोगसँग १० दिनको समय मागेका हौँ,’ बोहराले भने, ‘केही केन्द्रीय सदस्यहरु कमल थापाजीले राखेको बैठकमै अहिले पनि सहभागी हुनुहुन्छ।’

उनले केही दिनभित्रै उनीहरुसहित पार्टी दर्ता गर्ने बताए।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरासमेत रहेका राप्रपाका महामन्त्री सुनिलबहादुर थापाले दर्ता प्रमाणपत्र लिँदासम्म सय जना केन्द्रीय सदस्य पुर्‍याउने दावी गरे। ‘अहिले दर्ता नै नहुने भो भन्दै उहाँहरुले गरेको प्रोपोगाण्डाबाट केही साथीहरु त्यस्तै पो हो कि भन्ने भ्रममा पर्नुभएको छ,’ थापाले भने, ‘दर्ता हुने कुरामा अब कुनै शंका बाँकी छैन। केही दिनभित्रै दर्ता हुन्छ र हामीसँग उभिनुभएका सबै केन्द्रीय सदस्यहरु खुलेर अगाडि आउनुहुनेछ।’

उनले पार्टी हाँक्ने विधि, परम्परा र पक्षहरुको व्यवस्थापनभन्दा पनि हाली मुहाली गर्ने प्रवृतिबाट धेरै केन्द्रीय सदस्यहरु असन्तुष्ट भएको परिणाम नै फूट भएको भन्दै त्यहाँ बस्न नसक्ने धेरै केन्द्रीय सदस्य केही दिनभित्र सबैले चिन्ने दावी गरे।

३७ सांसद रहेको राप्रपा फूट्दा तीनै जना निर्वाचित सांसद् पशुपतिशमशेर तर्फ आएका छन् भने पशुपतिशमशेरतर्फ १८ जनाले हस्ताक्षेर गरिसकेका छन्।

‘१८ जना सांसद्को हस्ताक्षर तपाईले देखिसक्नु भएको छ, दर्ता भएपछि हामीसँग २२ पुग्ने छन्,’ संसदीय दलको उपनेता समेत रहेका बोहराले भने, ‘उहाँहरु पनि पार्टीको दर्ता प्रमाणपत्र कुरिरहनुभएको छ।’

राप्रपा प्रजातान्त्रिक गठन हुँदा केही समय अघि नै नयाँ पार्टी गठन गरेका डा प्रकाशचन्द्र लोहनीसँगका सांसदहरु पनि जोडिएका छन्। डा लोहनीको एकीकृत राप्रपाका सहअध्यक्ष केशरबहादुर विष्टका छोरा विराज विष्टदेखि उनीहरु निकटका अन्य सांसद पनि राणा पक्षमा छन्। त्यसैले दर्ता प्रक्रिया पुरा भएसँगै लोहनी राणा एकता आरम्भ हुने राणा पक्षले जनाएको छ। 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया